काठमाडौं । साताको सुरुआतमा लगातार दुई दिन घटेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा बुधबार भने गिरावटको क्रम रोकिएको छ। मंगलबार ४२.५८ अंकले घटेको नेप्से बुधबार ५.३८ अंकले बढ्दै २७३१.८९ बिन्दुमा पुगेको हो।
यद्यपि परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। सोमबार १६ अर्ब रुपैयाँ नाघेको कारोबार मंगलबार करिब १४ अर्बमा सीमित भएको थियो। बुधबार भने कुल ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। पछिल्ला दिनहरूमा १० अर्ब रुपैयाँभन्दा माथिको कारोबार भइरहेकाले बजारमा लगानीकर्ताको सक्रियता कायमै रहेको संकेत देखिएको छ।
बुधबार कारोबार भएका कम्पनीमध्ये १४१ वटाको सेयर मूल्य बढेको छ भने ११२ वटाको घटेको छ। ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
समूहगत परिसूचकमध्ये फाइनान्स समूह १.२४ प्रतिशतले बढ्दा जलविद्युत् समूह ०.९९ प्रतिशतले उकालो लागेको छ। यता इन्भेस्टमेन्ट उपसूचक ०.१६ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स समूह ०.१४ प्रतिशतले ओरालो लागेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। विपरीत दिशामा गुडविल फाइनान्स डिबेन्चर २०८३ को मूल्य ८ प्रतिशतले घटेको छ।
बुधबार नेप्सेमा सूचीकृत ३३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया