ओखलढुंगा । चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ। बोहोरे गाउँमा पसल सञ्चालन गर्दै आएका करिब ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको सोमबार राति अज्ञात समूहले हत्या गरेको प्रहरीले जनाएको छ।
घरमा श्रीमान–श्रीमती मात्र बस्दै आएका उनीहरूको हत्या पछि लुटपाट समेत भएको स्थानीयको अनुमान छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डमा टोली घटनास्थल पुगेको छ। प्रदेश प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुर समेत झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यसअघि गत पुस १५ गते पनि भदौरेकै सोवितडाँडामा सोभितमान थापामगर र रत्नमाया थापामगर दम्पतीको हत्या भएको थियो। उक्त घटनामा संलग्न चार जना पक्राउ परिसकेका छन्। एक महिनाको अन्तरमा एउटै क्षेत्रमा उस्तै प्रकृतिको घटना दोहोरिएपछि स्थानीय त्रसित बनेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया