राष्ट्रिय लिग फुटबल: मनाङ र पुलिसको पहिलो जित

60 Shares

काठमाडौं । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लब र नेपाल पुलिस क्लबले आ–आफ्नो पहिलो जित दर्ता गरेका छन्।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा मनाङ मस्याङ्दी क्लबले काँक्रेबिहार क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो। मनाङका गिडियन नाहले दुई गोल गर्दा सुरेश कुमाल, अनिलकुमार पन्चे मगर र नवराज गुरुङले एक–एक गोल थपे। काँक्रेबिहारका लागि सन्दीप देउवाले सान्त्वना गोल गरे। चार खेल खेलेको मनाङको यो पहिलो जित हो भने काँक्रेबिहारले लगातार चौथो हार बेहोरेको छ।

एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले श्री भगवती युवा क्लबलाई १–० गोलले हरायो। पुलिसले आत्मघाती (उपहार) गोलको लाभ उठाउँदै खेल आफ्नो पक्षमा पार्‍यो। चार खेलपछि पुलिसको यो पहिलो जित हो भने श्री भगवतीले प्रतियोगितामा दोस्रो हार बेहोरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी १७ टोली सहभागी छन्। सिङ्गल राउन्ड रोबिन आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल १ सय ३६ खेल खेलिनेछन्।

लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन्। प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।