नेपाल राष्ट्र बैंक र आरबीआईले भारतमा क्यूआर भुक्तानी सहजीकरण गर्ने समझदारी

193 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्यूआर कोडमार्फत सहज भुक्तानी गर्न सक्ने सहजीकरण गर्ने भएका छन्।

राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र आरबीआईका गभर्नर सञ्जय मलहोत्राबीच भएको भेटवार्तामा अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार, दुईपक्षीय हित, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, एआई–आधारित सुपरिवेक्षण, तथा सूचना प्रविधि क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ।

भुक्तानी प्रणाली, विदेशी विनिमय व्यवस्थापन, बैंक सुपरिवेक्षणलगायत विभागका कार्यकारी निर्देशकहरूले आरबीआईसँग विभिन्न विषयमा सहकार्य गर्न सकिने प्रस्ताव राखेका थिए।

यस्तै, गभर्नर पौडेलले भारत भ्रमणको क्रममा ६ माघमा गुजरात अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’ का उच्च अधिकारीहरूसँग भेटवार्ता गरी ‘गुजरात इन्टरनेसनल फाइनान्स टेक–सिटी (GIFT)’ अवधारणा, हालको अवस्था, लगानी प्रवर्द्धनका नीतिहरू र राष्ट्र बैंकसँग सहकार्यका सम्भावनाहरूमा छलफल गरेका थिए।

केन्द्रीय बैंकका अनुसार यस बैठकले नेपाल–भारत वित्तीय सहकार्य र भुक्तानी प्रणालीमा पारदर्शिता तथा सहजता बढाउने दिशामा महत्वपूर्ण प्रगतिका संकेत दिएको छ।