‘गोबर गणेश’ को बक्स अफिसमा उत्साहजनक व्यापार

58 Shares

काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।

माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म १ करोड १० लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ। प्रदर्शनको नवौं दिन (शुक्रबार) सम्म उक्त कमाइ भएको हो।

दोस्रो सातामा प्रवेश गरिसक्दा पनि चलचित्रले हलमा दर्शकको राम्रो साथ पाइरहेको छ। विशेषगरी सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण ‘गोबर गणेश’ हेर्ने दर्शकको संख्या क्रमशः बढ्दै गएको देखिएको छ।

चलचित्रका कलाकारहरू विभिन्न सिनेमा हलहरूमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन्। चलचित्र हेरेर निस्किएका धेरै दर्शकले यसलाई ‘आफ्नै घरको कथा’ भन्दै प्रशंसा गरेका छन्। निम्न–मध्यम वर्गीय नेपाली परिवारको दैनिक संघर्ष, सपना र बाध्यतालाई यथार्थ रूपमा प्रस्तुत गरिएको भन्दै दर्शक भावुकसमेत हुने गरेका छन्।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको चलचित्रमा मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, बुद्धि तामाङ, पदम तामाङ, विनोद न्यौपाने, निर्मल शर्मा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु) र सन्तोष बानियाँलगायत कलाकारको अभिनय रहेको छ।

टेलिभिजनबाट ‘बल्छी धुर्वे’ पात्रका रूपमा लोकप्रिय बनेका मरिचमान श्रेष्ठले ठूलो पर्दामा निर्देशक र कलाकार दुवै भूमिकामा आफूलाई सफल रूपमा स्थापित गर्ने संकेत यस चलचित्रको सफलताले दिएको छ।

निर्देशक तथा मुख्य कलाकार मरिचमान श्रेष्ठले दर्शक प्रतिक्रियाप्रति खुसी व्यक्त गर्दै भने, “हामीले एउटा इमानदार कथा भन्ने प्रयास गरेका थियौँ। दर्शकले हलबाट निस्कँदा ‘यो मेरो आफ्नै कथा हो’ भनिरहनुभएको छ। एउटा मेकरका लागि यो नै सबैभन्दा ठूलो अवार्ड हो। दर्शकको यो मायाले अबका दिनमा हलमा उपस्थिति अझै बढ्नेमा हामी ढुक्क छौँ।”