काठमाडौं उपत्यकामा बाक्लो हुस्सु, चिसो बढ्यो

170 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण बादल लागेसँगै हुस्सु र चिसो बढेको हो ।

हुस्सुका कारण दृश्यता घट्दा सवारीसाधन सञ्चालनमा कठिनाइ देखिएको छ भने पैदलयात्रुहरूले पनि कडाको जाडो महसुस गरिरहेका छन् । दिउँसो घाम लागे पनि हुस्सु पूर्ण रूपमा नहट्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्, जसले चिसो अझ बढाउने अनुमान गरिएको छ ।

प्रदूषण र धुलोका कारण पनि उपत्यकामा हुस्सु लामो समयसम्म कायम रहन सक्ने बताइएको छ । हुस्सुकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरूमा ढिलाइ हुनसक्ने जनाइएको छ ।

तराईका जिल्लाहरूमा भने झनै बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित बनेको छ । दृश्यता अत्यन्त कम हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ भने केही स्थानमा विद्यालयहरूमा बिदा दिने क्रमसमेत सुरु भएको छ ।

मौसमविद्हरूका अनुसार आगामी केही दिन देशभर जाडो बढ्ने क्रम जारी रहनेछ । तत्काल वर्षाको सम्भावना नदेखिएकाले चिसो अझ कडिन सक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

नागरिकहरूलाई जाडोबाट जोगिन न्यानो कपडा लगाउन, आगो ताप्दा सावधानी अपनाउन तथा सवारी चलाउँदा विशेष सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूले चिसोबाट बच्न अतिरिक्त सतर्कता अपनाउन सुझाव दिइएको छ ।