काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ भने लामो समयदेखिको खडेरीका कारण चिन्तित किसानहरू भने खुसी भएका छन् ।
बैतडीका उच्च लेकाली क्षेत्र खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ र देहिमाडौँलगायत स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । उनका अनुसार वर्षासँगै हिमपात भइरहे पनि हालसम्म राजमार्गहरूमा आवागमन अवरुद्ध भएको छैन ।
दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा पनि हिमपात भएको छ । त्यस्तै डडेलधुरा सदरमुकामसहित हगुल्टे, साहुखर्क र भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।
यो वर्ष पहिलोपटक परेको हिउँदे वर्षा र हिमपातले किसानहरूमा उत्साह थपिएको छ । गएको चार महिनादेखि वर्षा नहुँदा गहुँलगायत हिउँदे बाली सुक्दै गएका थिए । वर्षा र हिमपात भएपछि बाली सप्रिने अपेक्षामा किसान खुसी भएका हुन् । यद्यपि, हिमपातसँगै अत्यधिक चिसो बढेको छ ।
यसैबीच हुम्लामा पनि यस वर्षकै पहिलो हिमपात भएको छ । गत भदौयता वर्षा नभएको हुम्लामा वर्षासँगै हिमपात सुरु भएको हो । लामो समय हिउँ नपर्दा चिन्तित बनेका किसान हिउँ परेपछि राहत महसुस गरिरहेका छन् ।
हुम्लाको तल्लो भेगमा वर्षा भइरहेको छ भने माथिल्लो भेग सिमकोट, नाम्खालगायत क्षेत्रमा हिमपात जारी छ । हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । नाम्खा गाउँपालिका हुँदै हिल्सा जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया