पश्चिमी वायुको आंशिक प्रभाव: कर्णाली र सुदूरपश्चिममा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना

180 Shares

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण शुक्रबार बिहान तराई भू–भागका केही स्थानमा तुँवालो लागेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने छ। साथै यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने जनाइएको छ। लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि हल्का हिमपात–वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।