काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंकले बढेको छ। यससँगै नेप्से परिसूचक २ हजार ७१४ अंकमा पुगेको छ।
कारोबारको अन्तिम आधा घण्टामा बजारमा सुधार देखिँदा नेप्से बढ्न सफल भएको हो। अघिल्लो दिन भने बजार ९.४३ अंकले घटेको थियो।
कारोबार रकम पनि केही बढेको छ। अघिल्लो दिन ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ९ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आज १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ। १० कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा बैंकिङ समूह ०.३१ प्रतिशत र व्यापार समूह १.१५ प्रतिशतले घटे। फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले उक्लियो।
यस्तै, विकास बैंक १.५१, होटल तथा पर्यटन १.२६, हाइड्रोपावर ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.३६ प्रतिशतले बढेका छन्।
आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। १० प्रतिशतले बढ्ने कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्। एक्सल डेभलपमेन्ट बैंकको मूल्य ९.८७ प्रतिशतले बढ्दा रावा इनर्जी ९ प्रतिशत, झापा इनर्जी ८.४७ प्रतिशत र बन्दीपुर केबुलकार ८.२९ प्रतिशतले उकालो लागेको छ।
उता, कालिका पावरको सेयर मूल्य सबैभन्दा धेरै ६.२५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक शीर्ष स्थानमा रहे।






फेसबुकबाट तपाईको प्रतिक्रिया