आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल दोस्रो खेलमा पनि पराजित

209 Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल २ रनले पराजित भएको छ।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके। यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक थियो, तर सीता र रुबिनाले मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए। रुबिनाले अविजित ३७ रन र सीता राना मगरले अविजित २७ रन बनाइन्। बिन्दु रावलले १८ रन योगदान गरिन्।

नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिए भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो। कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन्, स्टेर कालिसले ३०, रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिए भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। नेदरल्यान्ड्सले आजको जितसँगै सुपर सिक्स चरणमा प्रवेश गरेको छ।