आर्सनलको सातौं लगातार जित, सिटी पराजित र टोटनहम विजयी

195 Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले लगातार सातौं जित निकाल्दै अपराजित यात्रा कायमै राखेको छ।

गएराति भएको खेलमा आर्सनलले इटालियन क्लब इन्टर मिलानलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत जितको यात्रा निरन्तरता दिएको हो। आर्सनलको जितमा ग्याब्रियल जेससले दुई गोल गरे भने भिक्टर ग्योकेरेसले एक गोल थपे। इन्टरका लागि पेटार सुसिकले एक गोल गरे।

खेलको १०औं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। १८औं मिनेटमा सुसिकले गोल गर्दै इन्टरलाई बराबरीमा ल्याए पनि जेससले ३१औं मिनेटमा पुनः गोल गर्दै पहिलो हाफमा आर्सनललाई २–१ को अग्रता दिलाए। दोस्रो हाफको ८४औं मिनेटमा ग्योकेरेसले गोल गर्दै आर्सनलको ३–१ को जित पक्का गरे।

यो जितसँगै आर्सनलले ७ खेलमा ७ जितसहित २१ अंक जोडेको छ। पराजित इन्टर १२ अंकसहित नवौं स्थानमा रहेको छ।

सिटीको हार, टोटनहमको जित

गएराति नै भएको अर्को खेलमा प्रिमियर लिगकै क्लब म्यान्चेस्टर सिटीले हार बेहोरेको छ। सिटी बोडो ग्लिम्पटसँग ३–१ ले पराजित भयो।

बोडोको जितमा क्यासपर होगले दुई गोल गरे भने जेन्स हजले एक गोल थपे। सिटीका लागि रायन चेर्कीले एक गोल फर्काए। होगले २२औं र २४औं मिनेटमा गोल गर्दै बोडोलाई पहिलो हाफमै २–० को अग्रता दिलाए। ५८औं मिनेटमा हजले तेस्रो गोल गरे। ६०औं मिनेटमा चेर्कीले गोल फर्काए पनि सिटीको हार टार्न सकेन।

६२औं मिनेटमा रोड्रीले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो। जितपछि बोडो ग्लिम्पट ७ खेलमा ६ अंकसहित २७औं स्थानमा छ भने सिटी १३ अंकसहित सातौं स्थानमा रहेको छ।

यसैगरी, गएरातिको अर्को खेलमा प्रिमियर लिग क्लब टोटनहमले बोरुसिया डर्टमन्डलाई २–० गोलअन्तरले पराजित गरेको छ।

जितसँगै टोटनहम ७ खेलमा १४ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने डर्टमन्ड ११ अंकसहित १२औं स्थानमा रहेको छ।