अभिनेत्री निशा अधिकारी काठमाडौं–५ बाट प्रतिनिधिसभा उम्मेदवार बने

168 Shares

काठमाडौं। चर्चित अभिनेत्री र गतिशील लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छन्।

उक्त दलकी केन्द्रीय सदस्य रहेकी निशाले आगामी १० वर्ष देशप्रति समर्पित हुने बताएकी छिन्। उम्मेदवारी दर्तापछि अनलाइनखबरसँग कुरा गर्दै उनले पार्टीले अघि सारेको ‘वडा वडामा दिगो रोजगारी’ लगायतका मुद्दा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

निशाले उद्यमशिलता, पर्यटन, कृषि, प्रविधि, मानसिक स्वास्थ्य लगायतका एजेन्डालाई विशेषज्ञहरूसँग समन्वय गर्दै अघि बढाउने योजना रहेको बताइन्। उनले भनिन्, “हामी समस्या समाधानसहितको हाउ पार्टी बन्न चाहन्छौं।”

क्षेत्र–५ की मतदाता समेत रहेकी निशाले आफ्नै अनुभव सुनाउँदै भनिन्, “अहिलेसम्म मैले राम्रो उम्मेदवारलाई भोट हाल्न पाएको छैन। महिलाको सहभागिता राजनीतिमा निराशाजनक छ। महिला सशक्तिकरण केवल महिलाका लागि होइन, घर र समाजका सबैका लागि हो। भान्सादेखि सदनसम्म महिलाको कुरा आउनुपर्छ।”

गतिशील लोकतान्त्रिक पार्टीले फुल चार्ज ब्याट्री लाई चुनाव चिन्ह बनाएको छ।