कांग्रेस विशेष महाधिवेशनविरुद्धको रिट सुनुवाइ सकियो

157 Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध दायर गरिएको रिटको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा उक्त रिटको सुनुवाइ सम्पन्न भएको हो।

शेरबहादुर देउवासमेत दुई जनाको तर्फबाट विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। देउवा पक्षले निर्वाचन आयोगलाई समेत विपक्षी बनाउँदै अदालत गएको हो।

गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र आधिकारिकताको विवाद उत्पन्न भएको थियो। विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो। तर आयोगले नवनिर्वाचित नेतृत्वलाई नै वैधानिकता दिएको थियो।

निर्वाचन आयोगको उक्त निर्णयपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो। विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगले पनि थापा नेतृत्वकै कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारका टिकटसमेत सभापति थापाले हस्ताक्षर गरेर वितरण गरिरहेका छन्।