काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महंगो पर्न जाने चेतावनी दिनुभएको छ। झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका अध्यक्ष ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन्।
झापामा उम्मेदवारी दर्ताका क्रममा केही युवाहरूले धकेलाधकेल गरेको प्रसंग उल्लेख गर्दै ओलीले त्यहाँ कुनै ठूलो झडप नभएको स्पष्ट पार्नुभयो। तर उक्त घटनाप्रति संकेत गर्दै उहाँले, “एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महंगो हुन जान्छ, त्यो कसैले पनि नगर्दा हुन्छ,” भन्नुभयो।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अहिलेको सरकारद्वारा संरक्षित दल भएको दाबी पनि गर्नुभयो।
उहाँले मुलुकको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै भन्नुभयो, “अहिले देशमा आगो लगाउन खोजिरहेका छन्, तिनले भ्रम फैलाउने प्रयास गरिरहेका छन्। नयाँ पुस्तामा भ्रम छ। देश बचाउनका लागि अनुभवी नेतृत्व आवश्यक छ।”







फेसबुकबाट तपाईको प्रतिक्रिया