काठमाडाैं। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार वृद्धि हुँदै आएको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सोमबार पनि सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो। मंगलबार भने सुनको मूल्य थप बढ्दै प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँ पुगेको छ। यो अघिल्लो रेकर्डभन्दा प्रतितोला २ हजार ७ सय रूपैयाँले बढी हो।
त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सोमबार प्रतितोला ५ हजार ८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ५ हजार ८ सय ८० रूपैयाँ पुगेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँले बढेको हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमा रहेको छ। मंगलबार सुन प्रतिऔंस ४ हजार ७ सय अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको असर नेपाली बजारमा समेत प्रत्यक्ष रूपमा परेको व्यवसायीहरूको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया