काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णय पार्टी विधानविपरीत रहेको ठहर गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा समूहको बैठकले आयोगले यसअघिका निर्णयबाट स्थापित नजिर, देउवाको नेतृत्वमा निरन्तर गरिएका पार्टीका निर्णयसम्बन्धी पत्राचार तथा प्रमाणलाई बेवास्ता गर्दै निर्णय गरेको आरोप लगाएको हो।
कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले २०८२ माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन, राजनीतिक दलसम्बन्धी विवादमा आयोगकै विगतका निर्णयबाट स्थापित नजिर तथा शेरबहादुर देउवा सभापति रहनुभएको नेपाली कांग्रेसबाट निरन्तर रूपमा गरिएका पार्टीका निर्णयसँग सम्बन्धित पत्राचार र बुझाइएका प्रमाणहरूलाई बेवास्ता गरी विधानको व्यवस्था विपरीत गरिएको छ।”
देउवा समूहले गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनलाई ‘तथाकथित’ भन्दै भेलाको संज्ञा दिएको छ। विज्ञप्तिमा भनिएको छ, “तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र उपस्थित संख्यासमेत नहेरी एकलौटी रूपमा गरिएको निर्णय दूषित मनसायबाट प्रेरित रहेको ठहर बैठकले गरेको छ।”
बैठकले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय स्पष्ट देखिएको जनाएको छ।
देउवा समूहले निर्वाचन आयोगको निर्णयलाई लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने षड्यन्त्रको अंशका रूपमा लिएको छ। विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै यसविरुद्ध संवैधानिक एवं कानुनी उपचारका साथै राजनीतिक प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ।”
यसैबीच, आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन नेता पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया