एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याइँदै

158 Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल भइरहेको छ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले उम्मेदवार चयनका लागि सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्। एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारका नाम सिफारिस गरिसकेका छन्।

ती सिफारिसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि बढाइएको जनाइएको छ। हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नबाहक उम्मेदवार नै अघि बढाउने जनाएको छ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचनको मतदान आगामी फागुन २१ गते हुने कार्यतालिका छ।