निष्क्रिय र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

157 Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका तथा विभिन्न कारणले पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्कन आह्वान गरेको छ।

निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। निर्णय सार्वजनिक गर्दै चालिसेले भन्नुभयो, “पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टी छाडेका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिन आह्वान गरिएको छ।”

त्यस्तै, बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्रियताका साथ सहभागी हुन सबै पार्टी पंक्ति, मतदाता तथा देश–विदेशमा रहेका कांग्रेसजनलाई अपिल गर्ने निर्णय पनि गरेको छ। “सबै साथीहरूलाई नयाँ ऊर्जा र पुनः एकताका साथ निर्वाचनमा सक्रिय रूपमा लाग्न अपिल गरिएको छ,” प्रवक्ता चालिसेले बताउनुभयो।

साथै, नेपाली कांग्रेसकै नेतृत्वमा देश अघि बढाउने प्रक्रियामा सम्पूर्ण देशवासीबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास बैठकले व्यक्त गरेको पनि उनले जानकारी दिनुभयो।