परिवर्तन आएको हो, पार्टी फुटेको होइन : सुजाता कोइराला

150 Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै नेतृ कोइरालाले भनिन्, “अहिले युवा, नेपाली समाज र जनताले परिवर्तन चाहेका छन्। परिवर्तनलाई हाँसेर, खुसी भएर अंगालो मार्नुपर्छ। नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन। नयाँ सभापति आउनुभएको छ, म उहाँलाई बधाई दिन चाहन्छु।”

उनले सभापति थापालाई बिपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक अनुभवलाई नबिर्सी पार्टी नेतृत्व गर्न सुझाव दिइन्।

नेतृ कोइरालाले परिवर्तनलाई सकारात्मक रूपमा स्वीकार्न नेताहरूलाई आग्रह गर्दै कानुनको अत्यधिक व्याख्या नगर्न पनि सुझाव दिएकी छन्। साथै उनले कसैलाई पनि नआत्तिन र नडराउन आग्रह गरेकी छन्।