काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भवनलगायत संरचना निर्माणमा रैथाने प्रविधिको प्रयोगमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रममा सम्बोधन गर्दै उहाँले भवन निर्माण संहिताको प्रभावकारी पालना गर्न सके भूकम्पलगायतका विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो। उहाँले भवन संहिता कार्यान्वयन सरकारको मात्र दायित्व नभई हरेक नागरिकको जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
उपप्रमुख डंगोलले भवन निर्माणका क्रममा इन्जिनियरिङ पक्षलाई बेवास्ता गर्न नहुने र रैथाने सीप तथा प्रविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। रैथाने प्रविधिबाट निर्माण गरिएका संरचनाले भूकम्पलाई थेग्न सक्ने उहाँको जिकिर छ।
उहाँले नारामा सीमित नभई पूर्वाधार निर्माणमार्फत परिणाम देखाउनुपर्ने बताउँदै प्रत्येक वर्ष नाराको कार्यान्वयनका लागि वार्षिक योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया