अभिनेता आकाश श्रेष्ठको फिल्ममा पुनरागमन, रुपेश तामाङको नयाँ प्रोजेक्टमा देखिँदै

116 Shares

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा शीर्ष भूमिकामा देखिएका छैनन् । यसबीच उनले केही फिल्ममा अतिथि भूमिका निर्वाह गरे पनि मुख्य भूमिकाका लागि भने उपयुक्त कथाको प्रतीक्षामा रहेको बताउँदै आएका थिए ।

अब भने आकाश श्रेष्ठको फिल्ममा पुनरागमन पक्का भएको छ । उनले ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल फिल्मबाट कमब्याक गर्न लागेका हुन् ।

यो प्रोजेक्टलाई लिएर आकाश निकै उत्साहित देखिएका छन् । फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् भने छायांकन आगामी फागुनको अन्तिम साताबाट सुरु गर्ने तयारी गरिएको छ ।

फिल्मको शीर्षक, अन्य कलाकार तथा प्राविधिक टिमबारे जानकारी क्रमशः सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । जुना फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्म एक्सन र कथानक प्रधान रहने अनुमान गरिएको छ ।

आकाश श्रेष्ठ पछिल्लो पटक १८ अगस्ट २०२३ मा प्रदर्शन भएको कथानक फिल्म ‘हिँड्दा हिँड्दै’ मा देखिएका थिए । सन् २०१६ मा ‘म त तिम्रै हुँ’ बाट फिल्म करिअर सुरु गरेका आकाशले त्यसयता करिब १० वटा फिल्ममा अभिनय गरिसकेका छन् ।