काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचारमा केन्द्रित हुन नहुने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)बीचको समायोजन कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले पार्टी सामूहिकतामा विश्वास गर्ने भएकाले व्यक्तिको प्रचारभन्दा संगठन र पार्टीको कामको प्रचारमा जोड दिनुपर्ने स्पष्ट पारे ।
उनले पार्टीका नेताहरूले गरेका राम्रा कामको प्रचार गर्ने र कमजोरी भए त्यसको जिम्मेवारी लिने संस्कार स्थापित गर्न आवश्यक रहेको बताए । एमालेप्रति संकेत गर्दै उनले व्यक्तिको अत्यधिक प्रशंसा गर्ने प्रवृत्तिका कारण पार्टी कमजोर बन्दै गएको जिकिर गरे ।
‘पार्टीमा राम्रो कामको प्रचार हुनुपर्छ । कमजोरी भए त्यसको जिम्मा लिनुपर्छ,’ उनले भने, ‘यसको अर्थ कुनै नेता विशेषको प्रचार होइन, यो पार्टीको प्रचार हो । पार्टी सामूहिकतामा विश्वास गर्छ । विभिन्न पार्टीहरूको अवस्थाबाट हामीले सिक्नुपर्ने आवश्यकता छ ।’
सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने चुनौती रहेको उल्लेख गर्दै त्यसलाई सामना गर्दै अगाडि बढ्नुपर्ने बताए । विगतका एकताको प्रक्रियाबाट पनि पाठ सिक्नुपर्ने बताउँदै उनले पार्टीमा विभिन्न व्यक्ति र समूह प्रवेश गर्दै जाँदा प्रशिक्षणलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
‘प्रशिक्षणपछि मात्रै एकरूपतामा अघि बढ्न सकिन्छ,’ उनले भने, ‘नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा पार्टीलाई स्थापित गर्नु आगामी दिनमा चुनौतीपूर्ण छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया