काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।
सभापति देउवाले राजीनामा दिएर पार्टीको सक्रिय भूमिकाबाट अलग हुन अस्वीकार गरेपछि बुधबार बिहानदेखि सुरु भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो । सभापति देउवा निवास महाराजगन्जमा बुधबार बिहान देउवा र दुई महामन्त्रीबीच छलफल सुरु भएको थियो ।
वार्तामा रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजाल पनि सहभागी थिए । दुई महामन्त्रीले सभापति देउवाको राजीनामालाई नै आफ्नो ‘बटमलाइन’ भएको बताएका थिए । तर देउवा सहित संस्थापन पक्षले यो माग स्वीकार नगरेको वार्तामा सहभागी एक नेताले जानकारी दिएका छन् ।
करिब एक घण्टा चलेको छलफलबाट कुनै सहमति नजुटेपछि दुवै महामन्त्री सभापति देउवा निवास महाराजगन्जबाट बाहिरिएर विशेष महाधिवेशन स्थलतर्फ लागिसकेका छन् ।
सभापति देउवासँगको वार्ताबाट निकास ननिस्किएकाले अब निर्वाचन प्रक्रिया अघि बढाइने विशेष महाधिवेशन पक्षका एक नेताले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया