आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन आयोगको आग्रह

175 Shares

काठमाडौं । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ बनाउन सबै सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ।

जिल्ला सुरक्षा समिति बाँकेको सोमबार बसेको बैठकमा सहभागी हुँदै आयुक्त तुलाधरले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा हालसम्म भएका सुरक्षा व्यवस्थापन, तयारी र क्रियाकलापबारे जानकारी लिनुभएको हो। सो अवसरमा उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगबाट गरिएका प्रयास, जारी निर्देशन तथा व्यवस्थापनका विषयमा जानकारी दिँदै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गर्नुभयो।

बैठकमा निर्वाचनसँग सम्बन्धित जिल्ला सुरक्षा समितिले हालसम्म गरेका काम, नीतिगत व्यवस्था तथा सुरक्षा रणनीतिबारे विस्तृत छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो। साथै बैठकले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णय पनि गरेको छ।