काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको नतिजा एमालेको पक्षमा आउने दाबी गर्नुभएको छ।
बागमती प्रदेश संगठन कमिटीले सोमबार आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन पार्टी गम्भीर रूपमा जुटेको बताउनुभयो। उहाँले पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि जनताको घरघरमा पुगेर पर्याप्त संवाद गर्न नसकेको स्वीकार गर्नुभयो।
महासचिव पोखरेलले उम्मेदवारको वरिपरि मात्र घुमेर चुनावी सफलता हासिल गर्न नसकिने उल्लेख गर्दै चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग प्रत्यक्ष जोडिएको बताउनुभयो। चुनावी अभियानमा चुकिए मुलुक पुनः राजनीतिक द्वन्द्वको मैदान बन्न सक्ने चेतावनी दिँदै उहाँले सबै कार्यकर्ता अभियानमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
सोही कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा विजय सुनिश्चित हुने गरी रणनीति तयार गर्नुपर्ने धारणा राख्नुभयो। साथै बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष नारायण सिलवालले निर्वाचन केन्द्रित अभियान सुरु भइसकेको जानकारी गराउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया