नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको दाबी– हस्ताक्षर ७० प्रतिशत पुर्‍याइने

173 Shares

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको संख्या सत्तरी प्रतिशत पुर्‍याउने दाबी गरेको छ।

सोमबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले हालसम्म हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने संख्या २ हजार ६ सय ६२ रहेको र सोमबारसम्म आइपुग्दा ६.२४ प्रतिशतले वृद्धि भएको बताउनुभयो।

उहाँका अनुसार हाल ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन् र हस्ताक्षर गर्ने क्रम अझै जारी छ। संस्थापन पक्षलाई पार्टी विधानले नचिन्ने उल्लेख गर्दै उहाँले पार्टीका नेताहरूलाई विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुन आग्रह गर्नुभयो।

पोखरेलले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्‍याएर देखाइने दाबीसमेत गर्नुभयो। उहाँका अनुसार मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुनेछ।

उहाँले भन्नुभयो, “हिजोको तुलनामा आज हाम्रो संख्या ६.२४ प्रतिशतले बढेको छ। ६६ प्रतिशतको कुरा सुनियो, हामी ७० प्रतिशत पुर्‍याएर देखाउँछौँ।”

मंगलबार बिहान ९ बजेदेखि बन्दसत्र सुरु हुने र निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका विभिन्न समितिहरू भंग गरिने जानकारी पनि उहाँले दिनुभयो।