माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

175 Shares

काठमाडौं । सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको राष्ट्रिय सभाको बैठक आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा माघ ४ गते आइतबार बिहान ११ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानस्वरूप अमेरिकी डलर २ लाख ८३ हजार ५ सय ३ रकम प्रदान गर्न स्वीकृति दिएको छ।

यस्तै, सरकारले भूकम्पबाट क्षतिग्रस्त म्यानमारको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ। २०२५ मार्चमा गएको भूकम्पबाट क्षति पुगेको महामुनीफैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर ३ लाख ५० हजार सहयोग उपलब्ध गराइनेछ।

बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ सम्मका लागि स्वीकृत गरेको छ। साथै, मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ पनि स्वीकृत गरिएको छ।

त्यसैगरी, गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी (भक्तपुर) लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री खरेलले जानकारी दिनुभयो।