काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताउनुभएको छ।
जेन–जी रेडफोर्सले आइतबार आयोजना गरेको जेन–जी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उहाँले समानुपातिक बन्दसूचीमा युवालाई प्राथमिकता दिने र प्रत्यक्षतर्फ पनि जेन–जी पुस्ताका नवयुवाहरुलाई उम्मेदवार बनाउने जानकारी दिनुभयो।
पार्टीको केन्द्रीय समितिमा पनि युवाहरूको उपस्थिति बलियो बनाउने तयारी रहेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो,
“पार्टी निर्माणको क्रममा होस् या चुनावमा, समानुपातिक सूची तयार गर्दा होस् या प्रत्यक्ष निर्वाचनमा पनि जेन–जी पुस्ताका युवालाई उच्च प्राथमिकता दिने प्रयास गरेका छौँ। हाम्रो लक्ष्य युवालाई अगाडि ल्याएर लाखौँ युवाहरुसँग संवाद कायम गर्नु हो। भविष्यमा पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ बढीभन्दा बढी युवालाई समेट्नेछौँ र केन्द्रीय समितिमा पनि युवाको सहभागिता सुनिश्चित गर्नेछौँ।”
संयोजक दाहालले जेन–जी रेडफोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने निर्णय भएको पनि बताउनुभयो। साथै, उहाँले भ्रातृसंस्थाहरू कार्यक्रम आयोजना गर्दा पूर्व माओवादी शैलीको प्रभाव नराखी अब नेपाली कम्युनिष्ट पार्टीको मूल भावनाअनुसार काम गर्न निर्देशन दिनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया