काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य बजरंग नेपालीले भृकुटीमण्डपमा देखिएको व्यापक सहभागितालाई आत्मसात् गर्दै पार्टी नेतृत्वलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै महोत्तरीका नेता नेपालीले पार्टीभित्रको अहंकार त्यागेर समन्वयका माध्यमबाट समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको उल्लेख गर्दै यसलाई जनमतको स्पष्ट सन्देशका रूपमा लिन नेतृत्वलाई आग्रह गर्नुभयो ।
‘यहाँ ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि साथीहरूको उपस्थिति छ । यो पार्टी हो कि होइन ? यो पार्टीको एकता हो कि होइन ?’ भन्दै उहाँले पार्टी सभापति, कार्यबाहक सभापति तथा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्नुभयो ।
अहंकारले कसैको हित नगर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अहंकारले पार्टी चल्दैन । फेरिएको जनमत स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाउनुहोस् । समन्वयबाट समाधान खोज्नुहोस् ।’
नेता नेपालीले आवेगका आधारमा होइन, अनुशासन र विधानको सीमाभित्र रहेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी एकताको लागि जिम्मेवार, परिपक्व र दूरदर्शी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया