महामन्त्रीद्वय थापा र शर्माको अभियानमा कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौंमा

154 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आयोजना हुन लागेको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।

काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन हुने आयोजक समितिले जनाएको छ । महाधिवेशनका लागि भृकुटीमण्डपको खुला चौरमा करिब ५० जना अतिथि अट्ने मञ्च निर्माण गरिएको छ भने सभास्थलमा ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको छ ।

मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार मञ्च वरिपरि नेपाली कांग्रेसका झण्डा, गेट, ब्यानर तथा प्रचार–प्रसार सामग्री राखेर विशेष महाधिवेशन स्थल सजाइएको छ । आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित रूपमा कार्यक्रमस्थलसम्म सहभागी गराउने तयारीसमेत गरिएको छ ।

विशेष महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ । उहाँका अनुसार विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन ।

आयोजक समितिले देशभरबाट सहभागी हुन आउने अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र बाँकी आउने क्रम जारी रहेको जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका अनुसार काठमाडौँका विभिन्न स्थानमा ३ हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ भने थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ ।

उद्घाटनपछि हुने बन्दसत्र पनि भृकुटीमण्डपको सभाहलमै आयोजना हुनेछ । बन्दसत्रमा पार्टी नेतृत्व परिवर्तनको विषय प्रमुख एजेन्डा बन्ने देखिएको छ । देशभरबाट आएका बहुमत प्रतिनिधिले नेतृत्व परिवर्तनको मुद्दा उठाएका छन् । तर नेतृत्व परिवर्तनले पार्टी विभाजनको जोखिम बढ्न सक्ने भन्दै महामन्त्रीद्वय थापा र शर्माले संकल्प प्रस्ताव पारित गरी विशेष महाधिवेशन समापन गर्ने तयारी गरेको बताइएको छ । यसले संस्थापन पक्षका लागि महाधिवेशनलाई पेचिलो दबाबका रूपमा प्रस्तुत गर्ने देखिएको छ ।

महाधिवेशन प्रतिनिधिको नाम दर्ता आइतबार बिहान ८ बजेदेखि सुरु हुनेछ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार भृकुटीमण्डपको मूल गेटसँगैका स्टलहरूबाट नाम दर्ता गरिनेछ । नाम दर्ताका लागि परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क साथमा ल्याउन अनुरोध गरिएको छ ।