काठमाडौं । नेपाली कांग्रेसका ४७ जिल्ला सभापतिहरूले भेला र समारोहमा अल्मलिनु भन्दा संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार हुँदै निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन्।
विज्ञप्तिमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, आसन्न प्रतिनिधिसभा निर्वाचन र सुरक्षा संवेदनशीलताजस्ता गम्भीर परिस्थितिमा कांग्रेस एकतावद्ध भएर राजनीतिक निकास दिनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरिएको छ।
जिल्ला सभापतिहरूले भनेका छन्,
“यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला र समारोहमा नअल्मलिकन संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सक्रिय रूपमा केन्द्रित हुन सबैमा आग्रह गर्दछौं।”
उनीहरूले पार्टीको १८ पुसमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १५औँ नियमित महाधिवेशनको कार्यतालिका (वैशाख २८–३१) तय भइसकेको र नियमित महाधिवेशनकै प्रक्रिया निरन्तर रहेको दाबी गरेका छन्।
साथै, विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहको मात्रै रहेको वैधानिक व्यवस्था भएको र हाल विशेष महाधिवेशनका लागि उपयुक्त वातावरणसमेत नभएको उनीहरूको निष्कर्ष छ।
विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी एकता जोगाउन वार्ता र संवादलाई प्राथमिकता दिँदै पार्टी विभाजन हुन नदिन केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइएको छ।
यी हुन् विशेषको विपक्षमा खुलेका प्रदेश र जिल्ला सभापतिहरू

फेसबुकबाट तपाईको प्रतिक्रिया