ओली: लोकतान्त्रिक शक्तिको पुनरागमन देखेपछि विध्वंशका पक्षधर एकजुट भए (पूर्णपाठसहित)

155 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरू एकजुट हुन थालेको बताएका छन्।

शनिबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ बीचको एकताप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

उनले धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिलाई किनारा लगाउन नसकेपछि भदौ २४ को विध्वंशलाई वैधता दिने शक्तिहरू एक ठाउँमा उभिन खोजिरहेको आरोप लगाए। ‘पुराना दल’ र ‘नयाँ दल’बीचको ध्रुवीकरणको रूपमा बहस गरिए पनि वास्तविक ध्रुवीकरण कुनै राजनीतिक विचारधारा वा दर्शनमा नभई भदौ २४ को विध्वंशलाई स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्ने विषयमा केन्द्रित रहेको उनको दाबी छ।

अध्यक्ष ओलीले लोकतन्त्र राजनीतिक दलहरूको भूमिकाबाट मात्रै बलियो हुने स्पष्ट पार्दै हाल विचारविहीन, सार्वजनिक जवाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू संगठित भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थामाथि चुनौती दिइरहेको आरोप लगाए।

उनले कुनै ‘अवतारी नायक’ जन्मिएर सबै समस्या जादुमयी रूपमा समाधान हुन्छ भन्ने भ्रम फैलिँदै गएकोप्रति सचेत रहन आग्रह गर्दै विध्वंश र पपुलिज्म कुनै पनि हालतमा अग्रगामी विकल्प हुन नसक्ने बताए।

पपुलिज्मले मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणाली कमजोर बनाउने उल्लेख गर्दै अध्यक्ष ओलीले सत्तामा पुग्न जस्तोसुकै भावना बेच्ने प्रवृत्तिले नेपालजस्तो देशमा गम्भीर भूराजनीतिक जोखिमसमेत निम्त्याउन सक्ने चेतावनी दिए।

उनले भने,
“राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ। यतिबेला मुलुकको राजनीति कुनै दर्शन वा विचारधारामा होइन, भदौ २४ को विध्वंशलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्र पुनःस्थापित गर्ने भन्ने विषयमा ध्रुवीकृत हुँदैछ।”

अध्यक्ष ओलीले लोकतन्त्र र संविधान कमजोर पार्ने उद्देश्यले विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्वहरूबाट जनतालाई भ्रममुक्त गर्न आवश्यक रहेकोमा जोड दिए।