काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले आफू आगामी निर्वाचन रुकुम पूर्वबाट लड्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,
“आउँदो चुनाव म रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट लड्ने छु। पूर्वी रुकुमबाट चुनाव लड्छु भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने कुरा तपाईंहरूले बुझ्नुभएको छ।”
उहाँले पश्चिम रुकुमका जनताले देखाएको विश्वास र चाहनालाई पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै विकास निर्माणका कामलाई नयाँ शिराबाट अघि बढाइने बताउनुभयो। साथै, रुकुमका जनताको दुःख–सुखमा सधैँ साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार बन्ने भन्ने विषय सार्वजनिक भएको थिएन। उहाँका लागि करिब आधा दर्जन जिल्लाबाट उम्मेदवारीका लागि सिफारिस भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया