सही तथ्यांकले नै असल नीति निर्माण सम्भव हुन्छ: अर्थमन्त्री खनाल

165 Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सही र विश्वसनीय तथ्यांकको आधारमै प्रभावकारी नीति निर्माण सम्भव हुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयद्वारा आयोजित नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले सरकारले निकट भविष्यमा स्थानीय तहसम्म मानव विकास सूचकांक (HDI) प्रतिवेदन तयार गर्ने जानकारी दिनुभयो ।

उहाँले गाउँपालिका र नगरपालिका तहमा मानव विकास सूचकांक तयार गर्न सकिए नीति निर्माण थप वैज्ञानिक, यथार्थपरक र समयसापेक्ष हुने विश्वास व्यक्त गर्नुभयो । मानव विकास सूचकांकले प्रशासकीय विकास तथा सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।

अर्थमन्त्री खनालले तथ्यांक संकलनका लागि आवश्यक बजेट नेपाल सरकारकै स्रोतबाट राष्ट्रिय तथ्यांक कार्यालयलाई उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, औद्योगिक विकास तथा राष्ट्रिय महत्वका नीति निर्माणमा तथ्यांकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,
‘तथ्यांक बिना असल नीति निर्माण सम्भव हुँदैन । अब केही समयपछि स्थानीय तहसम्म मानव विकास सूचकांक निकाल्दैछौँ । यसले नीति निर्माणलाई वैज्ञानिक बनाउँछ र प्रशासकीय विकासमा सहयोग पुर्‍याउँछ । यसका लागि राष्ट्रिय तथ्यांक कार्यालयलाई सरकारले पूर्ण सहयोग गर्नेछ ।’

मन्त्री खनालले आवश्यक तथ्यांकहरू बाह्य निर्भरतामा होइन, नेपाल आफैँ आत्मनिर्भर भएर उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।