कांग्रेस विभाजन कसैले चाहँदैन: उदयशमशेर राणा

166 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनै पनि नेता–कार्यकर्ताले कांग्रेस विभाजन होस् भन्ने नचाहेको स्पष्ट गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले आसन्न प्रतिनिधिसभा निर्वाचन कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै त्यसको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले पार्टीभित्र देखिएका समस्या समाधानका लागि उग्र नभई संयमित र मध्यमार्गी बाटो अपनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । साथै, विशेष महाधिवेशनलाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सहयोग गर्न अपिल गर्नुभयो ।

नेता राणाले भन्नुभयो,
‘फागुन २१ गतेको निर्वाचनअघि पार्टीभित्र केही समस्याहरू देखिएका छन् । विशेष महाधिवेशनको आह्वान पनि भएको छ । तर कांग्रेस विभाजित हुन्छ भन्नेमा म विश्वास गर्दिनँ । कुनै पनि कांग्रेस नेता–कार्यकर्ताले पार्टी फुटोस् भन्ने चाहेका छैनन् । निर्वाचनअघि सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्छ ।’

उहाँले उग्र राजनीति राम्रो परिणाम नदिने उल्लेख गर्दै संयमित भएर विशेष महाधिवेशनलाई “सेफ ल्याण्ड” गराउनु आवश्यक रहेको बताउनुभयो ।

राणाले आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनले पार्टीभित्र एकताको सन्देश दिने विश्वाससमेत व्यक्त गर्नुभयो ।