सञ्जय दत्तको प्रशंसक हुँ : प्रचण्ड

84 Shares

काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बलिउड अभिनेता सञ्जय दत्तको प्रशंसक रहेको बताएका छन् ।

खुमलटारमा दत्तसँग भएको भेटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै प्रचण्डले भेटघाट निकै रमाइलो र अविष्मरणीय रहेको उल्लेख गरेका छन् । चर्चित बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा दत्तको अभिनय आफूलाई मनपर्ने उनले बताएका छन् ।

प्रचण्डले लेखेका छन्, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो । मुन्ना भाइ एमबीबीएस मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु । उहाँसँगको कुराकानी निकै रमाइलो भयो । उहाँको नेपाल बसाइ सुखद रहोस् भन्ने कामना गर्दछु ।’

अभिनेता दत्त बिहीबार साँझ खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । यसअघि प्रचण्डकी नातिनी तथा गायिका स्मिता दाहालको विवाहमा सञ्जय दत्तलाई निम्तो गरिएको थियो । निम्तो पाए पनि विवाहमा सहभागी हुन नपाएका दत्तले स्मितालाई वैवाहिक जीवनको शुभकामना दिँदै चाँडै नेपाल आएर भेट्ने वाचा गरेका थिए ।

सोही प्रतिबद्धताअनुसार नेपाल आएका बेला सञ्जय दत्तले प्रचण्डसँग भेटघाट गरेका हुन् ।