परिणाम स्वीकार्दै अघि बढ्नु नै राजनीतिमा उत्तम विकल्प : सिटौला

166 Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा प्राप्त परिणामलाई स्वीकार गर्दै अघि बढ्नु नै सबैभन्दा उत्तम विकल्प भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय सबैले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । अहिले पार्टीभित्र परस्पर प्रतिस्पर्धा गर्ने समय नभएको उल्लेख गर्दै उहाँले निर्वाचनमा एकताबद्ध भएर जानु आजको मुख्य आवश्यकता भएको बताउनुभयो ।

सिटौलाले पार्टीभित्र देखिएको वर्तमान अवस्था सन्तोषजनक नरहेको स्वीकार गर्दै केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन गर्न आफूहरु लागिपरेको स्पष्ट पार्नुभयो । विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको उल्लेख गर्दै उहाँले पार्टीभित्र पूर्ण समझदारीका साथ निर्वाचन तयारीमा जुट्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टी एकताको आधार हो । यतिबेला पार्टीभित्र नेता तथा साथीहरुबीच प्रतिस्पर्धा गर्ने समय होइन । यो निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने समय हो । अहिले देखिएको परिस्थिति राम्रो होइन, तर हामी पार्टीको निर्णय कार्यान्वयनमा प्रतिबद्ध छौँ । राजनीति भनेकै परिणाम स्वीकार गरेर अघि बढ्ने प्रक्रिया हो ।’

विशेष महाधिवेशनको सन्दर्भमा उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन आजको आवश्यकता होइन । आजको आवश्यकता भनेको निर्वाचनमा पार्टीभित्र देखिनुपर्ने पूर्ण समझदारी हो । यस्तो बेलामा पार्टीभित्र खैलाबैला हुनु उचित हुँदैन । पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य हो ।’