काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरूको वर्चस्व रहने दाबी गर्नुभएको छ ।
शुक्रबार सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद तथा सरकारमा युवाको उल्लेखनीय उपस्थिति रहने बताउनुभयो । उहाँका अनुसार यसले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
मन्त्री खरेलले संसद र सरकार दुवै तहमा युवाहरूको वर्चस्व हुनु देशका लागि सकारात्मक र आशाजनक भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,
‘फागुन २१ मा चुनाव हुन्छ । चुनावपछि जुनसुकै पार्टीबाट आए पनि संसद र सरकारमा युवाहरूको बलियो उपस्थिति रहनेछ । सबै दलहरूले युवाका लागि कोटा तय गरिसकेका छन् । यो केवल आशा मात्र होइन, यथार्थ धरातलमा आधारित अनुमान हो ।’
युवाहरू संसदका समितिहरू र सरकारमा पुगेसँगै सूचना तथा सञ्चार प्रविधिमा केन्द्रित बहस र पहल बलियो हुने उहाँको विश्वास छ । ‘नेपाल निर्माण गर्न आईसीटीतर्फ अघि बढ्नैपर्छ भन्ने आवाज युवाहरूबाट बलियो रूपमा उठ्नेछ,’ उहाँले थप्नुभयो ।
मन्त्री खरेलले आफू मन्त्रीको हैसियतमा रहुञ्जेल सूचना प्रविधि क्षेत्रको विकासका लागि पूर्ण सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । विभागमा देखिएका अवरोधहरू आफ्नै तहबाट समाधान गर्ने प्रयास रहने उहाँको भनाइ थियो ।
यद्यपि, सीमित स्रोत र साधनका कारण सूचना प्रविधि विभागले अपेक्षाअनुसार काम गर्न नसकेकोतर्फ आफू सचेत रहेको मन्त्री खरेलले स्वीकार गर्नुभयो । स्रोतसाधनको अभावका कारण मातहतका निकायलाई प्रभावकारी निर्देशन दिन कठिनाइ भइरहेको समेत उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया