काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब चार घण्टा लामो संवाद भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर विस्तृत छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
निर्वाचनसम्बन्धी छलफलका लागि बालुवाटार पुगेका अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो व्यक्त गर्नुभएको थियो। भेटका क्रममा समग्र निर्वाचन तयारी, वर्तमान अवस्था तथा सुरक्षाको विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ।
जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक सबै प्रबन्ध सरकारले मिलाइसकेको र ढुक्क हुन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एमाले निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय भएकोमा प्रधानमन्त्री कार्कीले खुशी व्यक्त गर्नुभएको छ। बदलिएको राजनीतिक परिस्थितिमा पार्टी महाधिवेशन सम्पन्न गर्दै चुनौतीपूर्ण अवस्थामा समेत सक्रिय राजनीतिक गतिविधि गरेकोमा उहाँले अध्यक्ष ओलीलाई धन्यवाद दिनुभएको थियो।
प्रधानमन्त्रीसँगको संवादका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास दिलाउनुभएको सचिवालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया