काठमाडाैं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भदौ अन्तिम साता भएको जेन–जी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन आएको उल्लेख गर्नुभयो। उक्त परिवर्तनमा पार्टीको भूमिका के रह्यो भन्ने गम्भीर समीक्षा गर्न नीति र नेतृत्व बदल्न आवश्यक रहेको उहाँको भनाइ थियो।
महामन्त्री थापाले पार्टी विधानको पालना गर्दा पार्टी विभाजन हुन्छ भन्ने डर देखाइरहनु गलत भएको भन्दै संस्थापन पक्षलाई प्रश्न गर्नुभयो। उहाँले विशेष महाधिवेशनको मागमा ५४ प्रतिशत सदस्यको हस्ताक्षर भइसकेको र प्रस्तुत प्रस्ताव फिर्ता नहुने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो,
‘भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै छैन। ठूलो परिवर्तन भयो। यो परिवर्तन किन र कसरी भयो ? यसमा हाम्रो भूमिका के रह्यो ? कहाँ सही र कहाँ गलत भयो ? त्यसको विश्लेषण गरौँ। नीति पनि फेरौँ, नेता पनि फेरौँ। त्यसका लागि अधिवेशन गरौँ। नियमित महाधिवेशन मंसिरमा हुन नसकेपछि विशेष महाधिवेशन मागिएको हो।’
पार्टीमा युवा महामन्त्री आएपछि आफूहरूलाई स्वीकार नगरिएको गुनासो पनि उहाँले व्यक्त गर्नुभयो।
महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निमन्त्रण सन्देश पठाइएको जानकारी समेत दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया