तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा थप १० अर्बको ऋणपत्र निष्कासन

170 Shares

काठमाडौं। बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ऋणपत्र निष्कासन गरेको छ।

पछिल्ला १० दिनको अवधिमा राष्ट्र बैंकले एक खर्ब २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिसकेको छ। सोही क्रममा आज एक वर्षे अवधिका लागि १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिएको हो।

बोलकबोल प्रक्रियामार्फत लगानी गर्न मिल्ने यस ऋणपत्रमा आवेदन दिने समय आज दिउँसो २ बजेसम्म तोकिएको थियो। राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।

यस ऋणपत्रको सावाँ आगामी २०८३ पुस २४ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिने जनाइएको छ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोडले भाग गर्दा निःशेष जाने गरी बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ