सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदातासँग संयुक्त अपिल गरेका छन् ।
एमालेका केन्द्रीय सचिवसमेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको रोहबरमा बसेको कांग्रेस–एमाले कर्णाली प्रदेशस्तरीय बैठकले गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय गराउन आग्रह गर्ने निर्णय गरेको हो ।
गठबन्धनअनुसार नेपाली कांग्रेसबाट अन्यतर्फ ललितजंग शाही र नेकपा एमालेबाट महिलातर्फ मिनासिंह रखाल उम्मेदवार रहेका छन् । कांग्रेस र एमालेबीच राष्ट्रिय सभा निर्वाचनका लागि तालमेल भएको छ ।
बैठकले कर्णाली प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूलाई गठबन्धनका उम्मेदवारलाई मत दिन अनुरोध गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय सभा निर्वाचनको मतदानका दिन समयमै मतदान स्थलमा उपस्थित हुन दुवै पार्टीका तर्फबाट पहल गर्ने निर्णय पनि गरिएको छ ।
बुधबार साँझ बसेको बैठकमा एमालेका तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रविन्द्रराज शर्मा सहभागी थिए ।
त्यसैगरी नेपाली कांग्रेसका तर्फबाट सभापति ललितजंग शाही तथा महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसीको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया