स्पेनी सुपर कप: बार्सिलोनाले एथलेटिक बिलबाओलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनायो

196 Shares

काठमाडौं । साउदी अरेबियामा जारी स्पेनी सुपर कपको सेमिफाइनल खेलमा बार्सिलोनाले एथलेटिक बिलबाओलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

जेद्दाहस्थित अलिन्मा स्टेडियममा बुधबार राति भएको खेलमा राफिन्हाले दुई गोल गर्दै बार्सिलोनाको जितमा निर्णायक भूमिका खेले । ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले पहिलो हाफमै चार गोल गर्दै बास्क प्रतिद्वन्द्वीमाथि पूर्ण दबाब बनाएको थियो । युवा स्टार लामिन यमलले भने खेलको अधिकांश समय बेन्चमै बिताएका थिए ।

खेलको २३औँ मिनेटमा फर्मिन लोपेजको प्रहारलाई फेरेन टोरेसले गोलमा परिणत गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३०औँ मिनेटमा राफिन्हाको पासमा फर्मिनले आकर्षक कर्लिङ गोल गर्दै स्कोर २–० बनाए ।

त्यसको चार मिनेटपछि रूनी बार्डघ्जीले एथलेटिकका गोलकिपर उनाइ सिमोनको मुनिबाट बल छिराउँदै तेस्रो गोल थपे । ३८औँ मिनेटमा राफिन्हाले शक्तिशाली प्रहारमार्फत आफ्नो पहिलो गोल गरे भने दोस्रो हाफको ५२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको विशाल जित सुनिश्चित गरे ।

यो जितसँगै बार्सिलोना स्पेनी सुपर कपको फाइनलमा पुगेको छ । हाल बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा पनि रहेको छ ।