रुकुम पश्चिम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुम पश्चिमले जनार्दन शर्माको नाम एकल सिफारिस गरेको छ।
बुधबार बसेको पार्टीको विस्तारित बैठकले पार्टीका संरक्षकसमेत रहेका शर्मालाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला इन्चार्ज गोर्खबहादुर केसी (सन्देश) ले जानकारी दिनुभयो।
‘कसलाई उम्मेदवार सिफारिस गर्ने भन्ने विषयमा अन्यौल थियो । आजको बैठकले जनार्दन कमरेडको नाम एकल रूपमा सिफारिस गरेको हो,’ इन्चार्ज केसीले बताउनुभयो।
जनार्दन शर्मा आगामी निर्वाचन लड्ने वा नलड्ने भन्ने विषयमा स्पष्ट नभए पनि उहाँकै सहमतिमा उम्मेदवारी सिफारिस गरिएको केसीको भनाइ छ।
तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरूबीच भएको एकतामा सहभागी नहुँदै शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माणमा जुट्नुभएको थियो।
रुकुम पश्चिममा शर्माको नाम सिफारिस भएसँगै जिल्लाको निर्वाचन थप रोचक हुने देखिएको छ। २०६४ सालदेखि तत्कालीन नेकपा माओवादी केन्द्रबाट लगातार निर्वाचन जित्दै आउनुभएका शर्मा यसपटक भने फरक पार्टी र फरक चुनाव चिह्नबाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा हुनुहुन्छ।
यसअघि नेपाली कम्युनिस्ट पार्टीले पनि गोपाल शर्माको नाम एकल रूपमा सिफारिस गरिसकेको छ। कुनै समय जनार्दन शर्माका विश्वासपात्र मानिने गोपाल शर्मा अब उहाँकै प्रमुख प्रतिस्पर्धी बन्ने भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया