राष्ट्रियसभा उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक मूल्यविपरीत : अर्जुननरसिंह केसी

158 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन्।

बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत उम्मेदवार छनोट गरिएको आरोप लगाए। पार्टीभित्र पर्याप्त छलफल नगरी नौ जनाको नाम टुंग्याइएको भन्दै उनले यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी गरे।

उनले भने,
‘राष्ट्रियसभाको प्रतिनिधि छान्ने सन्दर्भमा बैठकहरू बसे पनि कुनै व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै भएन। अन्तिम समयमा सभापतिजीले नाम प्रस्तुत गर्नुभयो, तर त्यसमा कुनै छलफल हुन पाएन। नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा प्रक्रिया नै लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण अंग हो। तर यहाँ प्रक्रिया नै मिचिएको छ।’

केसीले उम्मेदवार छनोट इतर र भितर समूहबीचको ६०–४० भागबण्डाका आधारमा गरिएको आरोप पनि लगाए। उनका अनुसार लामो समयसम्म बैठक बसे पनि व्यक्तिको योग्यता र योगदानमाथि कुनै बहस नहुनु दुःखद् विषय हो।

उनले उम्मेदवार सूचीमा आदिवासी जनजातिको प्रतिनिधित्व नभएकोप्रति पनि असन्तुष्टि व्यक्त गरे। साथै, पार्टी र लोकतन्त्रका लागि संघर्ष गरेका कलाकार, साहित्यकार र विभिन्न क्षेत्रका योगदानकर्तालाई प्रतिनिधित्व गराउनुपर्ने भए पनि त्यसतर्फ ध्यान नदिइएको बताए।

केसीले थप भने,
‘उम्मेदवारको नाममा म टिप्पणी गर्न चाहन्नँ। तर जसरी नामहरू ल्याएर टुंग्याइयो, त्यो प्रक्रिया लोकतन्त्रका लागि लज्जास्पद छ। चार दिनसम्म बैठक बसेर पनि व्यक्तिगत औचित्य, क्षमता र योगदानबारे छलफल नगरी सूची प्रस्तुत गरिनुमा मैले असहमति जनाएँ।’