नेकपा सुसंस्कृत मानिसहरूको पार्टी हो, अरू समाप्त होउन् भन्ने सोच छैन : माधवकुमार नेपाल

172 Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेकपा सुसंस्कृत मानिसहरूको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने सोच नरहेको स्पष्ट पार्नुभएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सहसंयोजक नेपालले मंगलबारको बैठक राष्ट्रिय सभा सदस्य निर्वाचनमा केन्द्रित रहेको जानकारी दिनुभयो। उहाँले मतभारको आधारमा अन्य राजनीतिक दलहरूसँग सहकार्य हुनसक्ने संकेत पनि गर्नुभयो।

उहाँले नेकपाले आफ्नो समय देश र जनताको सेवामा समर्पित गरेको भन्दै कसैसँग डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो। सबै राजनीतिक शक्ति र व्यक्तिले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपालले भन्नुभयो,
“हामी कसैप्रति पनि नकारात्मक टिप्पणी गर्दैनौँ। नेपाली संस्कृति र हाम्रो पार्टीको संस्कार नै सुसंस्कृत छ। त्यसैले अरूको पद खोस्ने, निन्दा गर्ने वा अरू सबै समाप्त होउन् भन्ने खालको सोच हामी राख्दैनौँ। हामी फराकिलो हृदय भएका मानिसहरू हौँ।

नयाँ शक्ति सबै देखिएकै छन्, उनीहरू हामीले नै जन्माएका सन्तान जस्तै हुन्। अनि किन डराउने ? गल्ती गर्नेहरू डराउँछन्। विचार, सिद्धान्त र काममा सबै देखिएकै छन्। त्यसैले हामीले आफ्नो समय देश र जनताको सेवामा समर्पित गरेका छौँ।”

उहाँले आफूहरू जनताको भलाईका लागि राजनीतिक अभियानमा जुटिरहेको दाबी गर्दै सबैले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।