काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक दाहालले गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको र भविष्यमा पनि नहुने दाबी गर्नुभयो।
उहाँले हालैको भारत भ्रमण पार्टीको कामकै सिलसिलामा भएको बताउँदै सो क्रममा भारतीय जनता पार्टी (बीजेपी) का केही नेताहरूसँग अनौपचारिक भेटघाट भए पनि औपचारिक राजनीतिक संवाद वा गठबन्धनसम्बन्धी कुनै कुराकानी नभएको स्पष्ट पार्नुभयो।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको सम्भावित एकताप्रति आफूहरू नडराएको पनि दाहालले जिकिर गर्नुभयो। आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको स्मरण गराउँदै उहाँले कुनै पनि नेतासँग संवाद गर्न विशेष समय कुर्नु नपर्ने टिप्पणी गर्नुभयो।
प्रचण्डले भन्नुभयो,
“पार्टी एकता भएपछि सबै प्रदेशमा एकता सभा गरेका छौँ, दिल्लीमा पनि गरिएको थियो। म मुख्यतः त्यही कामका लागि भारत गएको हुँ। त्यहाँ विभिन्न भेटघाट स्वाभाविक रूपमा हुन्छन्। राजदूत र बीजेपीका नेताहरू आए, सम्मान भयो। तर कुनै औपचारिक राजनीतिक संवाद वा गठबन्धनको कुरा भएको छैन। गठबन्धन हुँदैन पनि। रवि–बालेनको गठबन्धनबाट हामी डराएका छैनौँ। रविलाई मेरै क्याबिनेटमा दुई पटक गृहमन्त्री बनाएको हो। उहाँसँग कुरा गर्न कुनै आइतबार कुर्नु पर्दैन।”
उहाँले कसैसँग नडराएको दोहोर्याउँदै आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी एक्लै जनतामा जाने बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया