नवलपरासी–१ बाट विजय कँडेल प्रतिनिधिसभा उम्मेदवार बन्ने

134 Shares

काठमाडाैं । आगामी फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट विजय कँडेल उम्मेदवार बन्ने भएका छन्।

सुस्ता–३ का स्थायी बासिन्दा कँडेल उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन्। उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण भएसँगै उनी पार्टी कार्यसमितिमा नरहने निर्णय गरेका थिए।

युवा व्यवसायी कँडेलले देशको अर्थतन्त्र, कूटनीति र समग्र सुधारका लागि चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले भने, “विगतमा निर्वाचित नेताहरूले व्यक्तिगत स्वार्थमा लाग्दा जनताको दुःख भएको छ। त्यसैले हामीजस्ता व्यक्तिले राजनीतिमा होमिनुपर्‍यो।”

कँडेलले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् र केही वर्ष अस्ट्रेलियामा बसाइपछी स्वदेश फर्किएका हुन्। हाल उनी काठमाडौं र चितवनमा करिब आधा दर्जन ‘हाइजेनिक मिट सेन्टर’ सञ्चालन गर्दै आएका छन्। त्यस्तै, उनी एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म, होटल–रेस्टुरेन्ट लगायत व्यवसायमा संलग्न छन्।

उनी युवालाई व्यवसायीक क्षेत्रमा जोड्न र देश विकासमा योगदान पुर्‍याउन राजनीतिमा आएको बताउँछन्। कँडेलले काठमाडौंलाई धुलोरहित बनाउन ‘जाग्यो नेपाल’ अभियानको नेतृत्व पनि गरेका थिए। २०७९ को चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए।