रास्वपाको सचिवालय बैठक सुरु, प्रत्यक्ष उम्मेदवारीको अन्तिम मिति टुंग्याउने कार्यसूची

188 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

बैठकमा कोषाध्यक्ष लिमा अधिकारी, सोबिता गौतम र बसुमाया तामाङ अनुपस्थित रहेका छन्। प्रवक्ता झाका अनुसार लिमा अधिकारी देशबाहिर रहेकाले र सोबिता गौतम पार्टी कार्यक्रमका लागि झापा जाने कार्यक्रम रहेकाले बैठकमा सहभागी हुन नसकेका हुन्। बसुमाया तामाङ बैठकमा सहभागी हुने जानकारी आएको भए पनि हालसम्म अनुपस्थित रहेको उहाँले बताउनुभयो।

बैठकमा कुल १० वटा कार्यसूचीमा छलफल हुँदैछ। कार्यसूचीको पहिलो बुँदामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति निर्धारण गर्ने विषय रहेको छ। साथै उम्मेदवार सिफारिस उपसमिति विस्तारलगायतका विषयहरू पनि कार्यसूचीमा समावेश छन्।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय आगामी माघ ६ गतेका लागि तय भइसकेको छ। यसअघि समानुपातिक तर्फको बन्दसूची दलहरूले निर्वाचन आयोगमा बुझाइसकेका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। समानुपातिक तर्फको बन्दसूचीमा देखिएका त्रुटि सच्याउन दलहरूले पुस २१ देखि २७ गतेसम्म समय पाएका छन् भने उम्मेदवारी फिर्ता लिन चाहनेका लागि पुस २८ गतेको म्याद तोकिएको छ।

यसैगरी रास्वपाले समानुपातिक तर्फका उम्मेदवारको परिचालनसम्बन्धी विषयमा पनि सचिवालय बैठकमा छलफल गरिरहेको जनाएको छ।