काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग गर्ने तालमेल र उम्मेदवार टुंग्याउने विषयमा आन्तरिक छलफलमा जुटेको छ।
यसका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले परामर्श बैठक बोलाएका हुन्। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ।
बैठकमा राष्ट्रिय सभा निर्वाचनको रणनीति तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ। साथै नेकपासँग एकतामा सहभागी घटक दलका नेताहरूको पनि सहभागिता रहेको छ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ। तीमध्ये एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ भने बाँकी १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भोलि हुने निर्वाचन आयोगले जनाएको छ।
चुनाव नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूबीच सिट बाँडफाँटको प्रयास भइरहेका बेला नेकपा आन्तरिक छलफलमा जुटेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया